झडपमा बाह्र घाइते
राजविराज (सप्तरी), १३ साउन । नेपाल–भारत सीमा खाँडो नदीमा भारतीय पक्षबाट बाँध बनाउने विषयमा आज झडप हुँदा भारतीय र स्थानीयवासी नेपाली गरी १२ जना घाइते भएका छन् ।
घाइते हुनेमा तिलाठी गाविस–४ निवासी ५६ वर्षीय देवनारायण यादव, वडा नं ७ का १५ वर्षीय रोशन झा, १६ वर्षीय हर्षधन कर्ण र १५ वर्षीय सञ्जीव झा, वडा नं ८ का ३५ वर्षीय सुशील यादव तथा ३५ वर्षीय शङ्कर यादव रहेको प्रहरी चौकी तिलाठीका प्रहरी नायब निरीक्षक पुगेन्द्र आङ्देम्बेले बताउनुभयो ।
घाइते नेपालीलाई राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएको प्रजिअ बलदेव गौतमले बताउनुभयो । सोही झडपमा भारतीय पक्षका समेत कम्तीमा छ व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । भारतको सीमावर्ती क्षेत्र कुनोलीमा उनीहरुको उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको टाउको फुटेको छ ।
करिब एक दशक अगाडि भारतीय पक्षबाट सप्तरीको तिलाठीमा निर्माण गरिएको बाँधलाई बाढीले भत्काएको र सो बाँधलाई भारतीय पक्षले आज बिहान पुनःनिर्माण गर्न लाग्दा स्थानीयवासी नेपाली युवा र भारतीय पक्षबीच पटक पटक झडप भएको थियो । अहिले त्यहाँको अवस्था केही सामान्य भएको प्रहरीले जनाएको छ ।