नेपालको मामिलामा हस्तक्षेप नगर्न भारतलाई प्रधानमन्त्री ओलीको सुझाव, नारायणकाजीले गरे, ओली सरकारको प्रसंशा
काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि छिमेकीले नेपालमाथि आफ्ना स्वार्थ लाद्न खोज्न नहुने बताउनुभएको छ ।
उहाँले भन्नुभयो – ‘‘नेपाल कस्तो धर्म चाहन्छ भन्ने यहाँका जनताले निर्णय गर्ने हो । कुनै मुलुकलाई के मन पर्छ भन्ने आधारमा तय गर्ने विषय होइन । हाम्रा मामिलामा अरुको हस्तक्षेप थोपर्ने काम स्वीकार्य छैन ।’’
प्रधानमन्त्री ओलीले मित्रराष्ट्रलाई मित्रकै हैसियतमा रहन आग्रह गर्दै भन्नुभयो– ‘‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा हो ।’’
संविधान बन्न नदिने र त्यसपछि सरकार बन्न नदिने पक्षले आफ्नो सरकारलाई करेली र लगाम लगाएर ठेगान लगाउन खोज्ने तथा कहिलेकाहीँ काँधमाथि चढ्न खोजेर नेपालीको स्वाभीमानमा हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभयो ।
‘‘हस्तक्षेपको विरोधमा नबोल्नु कूटनीति होइन, कूटनीतिभन्दा माथि नेपालको स्वाभिमान पहिलो हो । सार्वभौम मुलुकको हौसियत कायम गर्नु प्रमुख विषय हो ।” प्रधानमन्त्री ओलीले थप्नुभयो – “एक स्वतन्त्र राष्ट्रका हैसियतले हामी दुनियाँका सबै मित्रराष्ट्रसँग आँखा जुधाएर कुरा गर्न सक्छौँ । त्यही हैसियतामा मैले भारत र चीन भ्रमणका समयमा नेपालको हितमा सम्झौता गरेको छु । नयाँ सरकारले त्यसबाट पछि फर्कन मिल्दैन । जनताको असाधारण चेतनाले अबका सरकारलाई स्वच्छन्द हुन दिँदैन ।”
उहाँले ‘कागका गुँडमा कोइलीले खुसुक्क अन्डा हालेर बच्चा कोरलेजस्तो’ स्थिति नेपाली राजनीतिमा देखिएको भन्दै यस्तो अवस्थामा यहाँ कसैले आफ्नो पुनःरोदय भयो भनेर दसैँमा आँगनमा निस्केर केटाकेटी नाँचेजस्तो गर्नु आवश्यक छैन भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालीको नयाँ सरकार सचेत जनताको निगरानीमा रहने जनाउँदै भन्नुभयो – “त्यो सरकार पनि नेपालभित्र चल्ने हो, बाहिर चल्ने होइन ।”
उहाँले कांग्रेस–माओवादी दलीय स्वार्थमा केन्द्रित भएकाले एमाले नेतृत्वको सरकारले राम्रा काम गर्दागर्दै ढाल्ले चलखेलमा लागेको आरोप पनि लगाउनुभयो । उहाँले एमालेले नीति, कार्यक्रम र बजेट राम्रो ल्याएपछि छट्पटाएर ती दलले दलीय स्वार्थमा मात्र केन्द्रित भएर सरकार ढलेको समेत जिकिर गर्नुभयो । अहिले उनीहरुले नै आफूलाई भारतसँग सम्बन्ध विगार्यो भनेर आरोप लगाएको देख्दा अचम्म लागेको भन्नुभयो ।
त्यसैगरी उहाँले ती दलहरुबाट संसद् विघटन गर्ने खेल सुरु भएको हुनसक्ने समेत आशंका व्यक्त गर्नुभयो । ‘पहिला संविधानसभा विघटन गरेको हामीलाई थाहा छ,’ उहाँले भन्नुभयोे, ‘त्यसपछि पनि विभिन्न खेल भएकै हुन अहिले पनि संसद् विघटन गर्ने खेल सुरु भएको छ ।’ उहाँले २०७४ माघ ७ सम्ममा प्रतिनिधिसभाको निर्वाचन नभए संसद् नै विघटन हुने भएकाले अब बन्ने सरकारलाई स्थानीय वा प्रदेशको चुनाव होइन प्रतिनिधिसभाको चुनाव गर्न सुझाव दिनुभयो । उहाँले नेपालको सबै भन्दा ठूलो नीति भनेको नेपालको उन्नती भएको भन्दै त्यस भन्दा दायाँ–बायाँ नहुने पनि दाबी गर्नुभयो । ‘मित्रराष्ट्रहरुलाई सुझाव छ,’ हाम्रो नीति यही हो, यहाँ भन्दा दायाँ–वायाँ हुँदैन,’ उहाँले भन्नुभयो । उहाँले नेपालको मामिलामा हस्तक्षेप नगर्न पनि सुझाव पनि दिनुभयो । ‘मित्रहरुले मित्रको व्यवहार गरुन्,’ उहाँले भन्नुभयो, ‘अहिले रातभरी छौँडा खेलाएर हामीलाई सुत्न नदिने काम भएको छ, यसो नगर्दा नै राम्रो हुन्छ ।’
ओलीले नेपालको राजनीतिमा वाहिरको चलखेल भएको आरोप पनि लगाउनुभयो । ‘कागले कोइलीका गुँडमा अण्डा राखेर बच्चा कोरल्ने प्रयास भएको छ,’ उहाँले भन्नुभयो, ‘यसको कुनै तुक छैन ।’ उहाँले नयाँ सरकार गठनपछि केही सञ्चार माध्ययम दशैँमा बच्चाले नयाँ लुगा लगाउँन पाइने भो, मीठो खान पाइने भो भन्दै नाचे जस्तो गरेको आरोप लगाउँदै त्यसो नगर्न सुझाव दिनुभयो । ।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता माधबकुमार नेपालले छिमेकसँगको सम्बन्ध सन्तुलित राख्नु पर्नेमा जोड दिनुभयो । उहाँले अहिलेसम्म हामीले कुटनीतिक कौशलता देखाउँन नसकेको भन्दै भारत र चीनसँग मिलेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले १९५० को सन्धी पुनरावलोकन गर्न सुझाव पनि दिनुभयो ।
कार्यक्रममा माओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारले राम्रो काम गर्दा–गर्दै सरकार ढाल्ने काम गरेर खराव संस्कारको विकास गरेको आरोप लगाउनुभयो । कार्यक्रमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला लगायतले पनि बोलेका थिए । कार्यक्रमको दोस्रो सत्रमा विभिन्न परराष्ट्र विज्ञबाट कार्यपत्र प्रस्तुति र छलफल हुनेछ ।