मोरङ कारागारमा कैद भुक्तान गर्ने दिनमै कैदीको मृत्यु

विराटनगर, ९ पुस । जिल्ला प्रहरी कार्यालय मोरङकाे कारागारमा एक कैदीकाे मृत्यु भएका छन् ।

लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका- १० का चण्डेश्वर सहनीको कैद भुक्तान अवधी आज सकिंदै गर्दा बिहान करिब साढे ६ बजे मृत्यु भएको छ । सहनी आजै छुट्ने तयारीमा रहेका थिए ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयाे । उहाँका अनुसार सहनी कैद भुक्तान गरी आज छुट्ने दिन थियो ।

सहनीको मृत्युपछि मात्रै कारागारले परिवारलाई जानकारी गराएको थियो । जिल्ला कारागार मोरङका निमित्त जेलर कृष्णहरि न्यौपानेले सम्पर्क नम्बर गलत हुँदा आफन्तलाई जानकारी दिन ढिलो भएको बताउनुभयाे ।

मोरङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा चौकिदारले विभिन्न बाहानामा कैदीबन्दीलाई यातना दिएको गुनासो आइरहन्छन् ।

कारागारमा महिला पुरुष गरी ३०० जना क्षमता रहेकाेमा मोरङ कारागारमा पुरुष ९४८, महिला ८९ र नाबालक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदीबन्दी छन् ।