राष्ट्रपति पौडेलद्वारा बागलुङ कालिकामा पूजाआराधना

काठमाडाैं, ११ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधना गर्नुभएको हो ।

मन्दिरका मूल पूजारी जयबहादुर खड्काको उपस्थितिमा राष्ट्रपति पौडेलले करिब २० मिनेट पूजा आराधना गर्नुभएको थियो ।

राष्ट्रपति पौडेल सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि आज त्यहाँ पुग्नुभएकाे थियाे । मन्दिरको दर्शनलगत्तै उहाँले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान बागलुङ बजार आइपुग्नु भएको थियाे ।

कोरोना सङ्क्रमणका कारण हुन नसकेको महोत्सव चार वर्षपछि हुन लागेको हो । आजदेखि सुरु हुने महोत्सव यही पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलले बताउनुभयो ।