सुन्तलाखेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान
इलाम, १२ पुस । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् ।
माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ । “तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, दुई वर्ष पुराना बिरुवा धेरै छन्, गत वर्ष लगाएका बिरुवा भर्खर सर्दैछन्”, उहाँले भन्नुभयो ।
जिल्ला सदरमुकामका खगेन्द्र देवानले इलाम बजार नजिकैको सुन्तलाबारीमा एभोकाडो खेती गर्नुभएको छ । धेरै सुन्तला फलेकाले सुन्तलाबारीको नाम रहेको उक्त गाउँमा हाल सुन्तला मासिएर एभोकाडोको पहिचानले कब्जा जमाउन थालेको उहाँ बताउनुहुन्छ । “सुन्तला विस्थापित भयो, नयाँ फलका रुपमा एभोकाडो खेती सुरु गरेका छौँ, एउटै बोटबाट एक क्विन्टलसम्म उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “ एउटै झ्याङमा ८० हजारको एभोकाडो फलेको तथ्याङ्क छ ।”
यहाँका अधिकांश किसानले सुन्तलाबारी मासेर एभोकाडो खेती गर्न थालेका छन् । करिब २० रोपनी क्षेत्रफल जमिनमा अढाइ सय बिरुवा रोपिएको देवानले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “कम स्याहारले नै उच्चतम आम्दानी लिन सकिने भएपछि सहज भएको छ ।” नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहनुभएका देवान सामाजिक तथा राजनीतिक भूमिकाको अलवा कृषि कर्ममा समेत रमाउने गर्नुभएको छ । “हामी राजनीति गर्नेले ढुक्क बसेर खेती गर्न समय नहुँदोरहेछ तर एभोकाडोलाई त्यति धेरै समय दिनुपर्दैन फुर्सदमा खटिँदा मात्र पनि राम्रै उपार्जन छ”, उहाँले भन्नुभयो ।
जिल्लामा यस वर्ष एभोकाडोको उत्पादन बढेको कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ । गत वर्ष चार सय १९ दशमलव २२ मेट्रिक टन एभोकाडो उत्पादन भएको इलाममा यस वर्ष चार सय २२ दशमलव पाँच मेट्रिक टन एभोकाडो उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख टानी बर्देवाले जानकारी दिनुभयो । गतवर्ष ५५ हेक्टर जमिनमा खेती लगाइएको थियो भने यस वर्ष ६० दशमलव पाँच हेक्टर जमिनमा खेती गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार गतसालको तुलनामा उत्पादकत्व भने घटेको छ । “गत वर्ष प्रतिहेक्टर सात दशमलव ६३ मेट्रिक टन एभोकाडोको उत्पादकत्व थियो तर यस वर्ष प्रतिहेक्टर सात दशमलव तीन मेट्रिक टन मात्र रहेको छ”, उहाँले भन्नुभयो ।
नयाँ फलका रूपमा परिचित एभोकाडो पछिल्लो समय इलामका गाउँगाउँमा समेत विस्तार हुँदै गएको माइजोगमाईका खत्रीले बताउनुभएको छ । सो फलबाट किसानले मनग्ये आयआर्जनसमेत गर्न थालेको स्वयम् किसानको भनाइ छ । एक दशक मलेसिया बसेर स्वदेश फर्किनुभएका खत्रीले गाउँको बाँझो जमिनमा लगाएको एभोकाडो खेती यहाँको हावापानीमा एकदमै फस्टाएको बताउनुभयो ।
एभोकाडो कात्तिक मङ्सिरमा नै पाक्ने भएकाले यसको बजार राम्रो भएको किसान बताउँछन् । सुरुमा रु तीन सय किलो बिक्ने एभोकाडोको बजार भाउ पनि तलमाथि भइरहन्छ । इलाम बजारमा हाल रु दुई सय प्रतिकिलो यसको खरिद बिक्री भइरहेको छ । “व्यापारीको दुःख छैन, बगानमै आउँछन् र मुस्टमा दामकाम गरेर पनि किन्छन्”, देवानले भन्नुभयो । हाल इलाममा उत्पादित एभोकाडो इलामको स्थानीय बजार तथा झापा, सुनसरीमा बिक्री भइरहेको किसान तथा निजामती कर्मचारी कृष्ण लिम्बूले बताउनुभयो । उहाँका अनुसार हाल इलामसहित, झापा, सुनसरी काठमाडौँलगायतका स्थानमा यसको बिक्री भइरहेको छ । बजारको समस्या नभएपछि पनि यस खेतीतर्फ किसानको आकर्षण बाक्लिएको हो ।
दिउँसो अन्यत्रै काम गरेर भए पनि बिहान बेलुकाको समय निकालेर खेती गर्न सकिने यो फल यस याममा मुख्य उत्पादन लिन सकिन्छ । दीर्घरोगीले समेत खान मिल्ने एभोकाडो फल लटरम्म फलेपछि एउटै बोटबाट राम्रो आम्दानी गर्न सकिने बताइएको छ । सुरुमा धनकुटाबाट ल्याएर रोप्न सुरु भएको एभोकाडो पछिल्लो समय प्रायः जिल्लाभर नै खेती विस्तार भइरहेको हो । कुनै लामो त कुनै डल्लो आकारको हुने एभोकाडो धेरै प्रजातिका हुने गरेका छन् । यसकै कुनै फल स्वादिष्ट त कुनै खास स्वाद नहुने गरेको उपभोक्ताको भनाइ छ ।
एभोकाडोमा भिटामिन र खनिजतत्व पर्याप्त मात्रामा पाइन्छ भने एभोकाडोको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ । विज्ञका अनुसार, एउटा एभोकाडोमा ६४ क्यालोरी हुन्छ । यसमा छ ग्राम चिल्लो, तीन/चार ग्राम कार्बोहाइड्रेट, एक ग्रामभन्दा कम चिनी र तीन ग्राम फाइवर हुने गरेको छ । एभोकाडोमा भिटामिन ‘सी, ई, के, बी’ पाइने जनाइएको छ । राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ । साथै बिटाक्यारोटिन र ओमेगा–३ चिल्लो एसिड पनि यसमा पाइन्छ । एभोकाडो पूर्णरूपमा स्वास्थ्यवर्धक मानिन्छ । यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्ने जनाइएको छ ।
जिल्लामा उत्पादन भएको एभोकाडोलाई देशका विभिन्न ठाउँमा प्रवद्र्धन गर्नका साथै प्रचारप्रसार गर्न र किसानलाई हौसला प्रदान गर्न कृषि ज्ञान केन्द्रले समन्वय र सहयोग गर्दै आएको छ । बिरुवा रोपेको तीन वर्षदेखि नै उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषक यसतर्फ आकर्षित भएको ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताउनुभयो ।