मिटरब्याजीले पीडित कुटेपछि प्रहरी कार्यालयमा रातभर पीडितकाे धर्ना
जनकपुरधाम, १२ पुस । मिटरब्याजीले पीडितलाईनै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि पीडितहरु रातभर धर्ना बसेका छन् ।
विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको भन्दै पीडितहरु रातभर धर्ना बसेका हुन् ।
मिटरब्याजी श्याम निरौलाले पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई सिरहा जिल्ला अदालतमै कुटेपछि मिटर ब्याज पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका हुन् ।
घटनापछि मिटरब्याजी निरौलालाई पक्राउ गरी कारबाही गर्न मिटर ब्याज पीडितहरू कठाङ्ग्रिँदो चिसोमा खुल्ला आकाश मुनी रातभर धर्ना बसे । उनीहरूले माग पुरा नभएसम्म धर्ना जारी राख्ने अडान लिएपछि प्रहरीले पीडित कुट्ने निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ ।
निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ ।
न्यायका लागि अदालत पुगेका दुई पीडितलाई मिटरब्याजी निरौलाले कुटेको र उनलाई प्रहरीले पक्राउ नगरेपछि रातभर धर्ना बसेको बताए । उनले भने, ‘आज बिहान प्रहरीले निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ । त्यसपछि हामी धर्ना स्थगित गरेका छौँ ।’
निरौला विष्णुपुर गाउँपालिका १ का बासिन्दा हुन् । उनीविरुद्ध मिटर ब्याज सम्बन्धी ३२ वटा उजुरी परेको छ । केहि महिना अगाडी मात्रै मिटर ब्याज मुद्दामै पक्राउ परेका उनी ३५ दिन थुनामा बसेर छुटेका थिए ।