भोजपुरमा बन्दा बन्दैकाे पुल भत्कियो
भोजपुर, १२ पुस । भोजपुरकाे षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ ।
ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज भत्किएको हो । यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ ।
अन्तिम चरणमा पुगेको पुल ठेकेदारको लापरवाही र इन्जिनियरको कमजोरीका कारण भत्किएको आरोप स्थानीयले लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले ढलानका लागि छड राखिसकेको अवस्थामा पुल तल खसेको बताउनुभयो । पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयले राखेका छन् ।
उक्त पुल दिव्यज्योति धनञ्जय जेभीले बनाइरहेको हो। पुलको लागत ६ करोड ३० लाख रूपैयाँ रहेको छ ।
लापरवाहीका कारण यसअघि पनि भोजपुरकै दक्षिण क्षेत्र जोड्ने कावा खोलामा रु पाँच करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल पनि २०७८ मङ्सिरमा भत्किएको थियो ।
हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा बनिरहेको पुल भत्किएको थियो ।