लामिछाने विरूद्धको बलात्कार मुद्दाकाे फैसला आज आउन सक्ने

काठमाडाैं, १३ पुस । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज फैसला आउने सम्भावना छ।
लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा आइतबारदेखि अन्तिम सुनुवाइका लागि पेसी चढेकोमा बहस हुँदै आइरहेको उक्त मुद्दा हिजो पनि हेर्दाहेर्दैमा परेको थियो।
बिहीबार सन्दीप लामिछाने पक्षका वकिलहरूको बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालले मुद्दा हेर्दाहेर्दैमा राखेका थिए।
हिजो लामिछानेका वकिलहरू अधिवक्ता मुरारी सापकोटा, रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सविता भण्डारी र रमण श्रेष्ठले बहस गरेका थिए।
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दागर्दै कार्यालय समय सकिएपछि न्यायाधीश ढकालले बहस सारेका थिए।
आज लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाका वकिलले जवाफी बहस गर्ने छन्। दुवै पक्षको बहस सकिएपछि यो मुद्दामा न्यायाधीशले फैसला सुनाउने छन्।
बलात्कार भएको हो कि होइन भन्ने विवाद भएको यो मुद्दामा धेरैजसो न्यायाधीशले बालिकाको जन्म मितिसम्बन्धी कागज मगाउने मात्रै आदेश दिएर मुद्दा पन्छाउँदै आएका थिए। साउन ३२ मा न्यायाधीश राजुकुमार खतिवडाले त पीडितकी आमाको जन्म मितिसमेत यकिन गर्ने आदेश दिएका थिए।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।