साम्राज्यवादी शक्ति व्यवस्था परिवर्तन गराउने गरी नेपाली जनतालाई भड्काउँदै छः महेश बस्नेत

काठमाडौं,१३ पुस। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले नेपालको राजनीतिक बागडोर श्रमजीवी वर्गको हातबाट क्रमशः खोसिँदै गएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल सङ्खुवासभाले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले राजनीति वैध, अवैध अनेक काम गरेर स्रोत साधन सङ्कलन गरेका मानिसहरूको हातमा जाने क्रम सुरु भएको बताउनुभयो ।  त्यसैले अहिलेको निर्वाचन प्रणालीमा व्यापक सुधार गर्न आवश्यक रहेको उहाँको तर्क छ ।

त्यस्तै सार्वजनिक खरिद ऐनका कारण विकास निर्माणको काम पनि ठप्प भएको उहाँले बताउनुभयो । निर्माण व्यवसायी काम नगरेर भाग्दा पनि काममा ल्याउन सक्ने अवस्था नरहेको उहाँले सुनाउनुभयो । जसले गर्दा सहयोगी दातृ निकायले नेपाललाई गरेको सहयोग अनुदान प्रति प्रश्न उठाउने गरेका उहाँले बताउनुभयो ।

नेपालको जटिल भौगोलिक अवस्थाको कारण पनि साम्राज्यवादी शक्तिको ध्यान नेपालमा केन्द्रित भएको उहाँले बताउनुभयो । चीन र भारतले विश्वलाई नै चुनौती दिने गरी विकास गरेको कारण अन्तराष्ट्रिय शक्तिले उनीहरूलाई वाच गर्ने थलो नेपाललाई बनाउन खोजेको उहाँको भनाइ छ । ‘साम्राज्यवादी शक्तिले यहाँ विकास चाहँदैनन्, समृद्धि चाहँदैनन्, यहाँ स्थिरता चाहँदैनन्, यहाँ बलियो राजनीतिक शक्ति चाहँदैनन्’, बस्नेतले बताउनुभयो ।

ती शक्तिको पहिलो निशाना एमाले भएको उहाँले बताउनुभयो । ‘किनभने तुलनात्मक रूपमा नेकपा एमालेका नेताहरू सुद्ध छन्, एमाले मजबुत छ’, उहाँले भन्नुभयो ।
एमालेले भर्खरै सम्पन्न गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राले नयाँ सन्देश दिएको उहाँले बताउनुभयो । ‘यसबाट एमाले यो मुलुकको सबैभन्दा सशक्त पार्टी हो भन्ने सन्देश हामीले दिएका छौँ’, उहाँले भन्नुभयो ।

अहिले साम्राज्यवादी शक्तिले यो व्यवस्था परिवर्तन गराउने गरी मानिसहरूलाई उचाल्ने प्रयत्न गरिरहेका उहाँले बताउनुभयो । विगतमा मधेशमा गरिएको सो प्रयास असफल भएपछि अहिले कोशी प्रदेशमा उक्त प्रयास भइरहेको उहाँले दाबी गर्नुभयो । कोशी प्रदेशमा हिंसात्मक र अराजक गतिविधि सञ्चालन गर्ने अनेक खालका प्रयास भएका उहाँले बताउनुभयो ।

वर्तमान गठबन्धन सरकारले देश र जनताको हितमा काम गर्न नसक्ने उहाँले दाबी गर्नुभयो । विदेशी प्रभुहरूको इसारामा चलेको कारण यो सरकारले दश हितको काम गर्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । सत्ता गठबन्धनमा रहेका दलहरू प्रधानमन्त्री कस–कसले खाने भनेर सत्ताकै दौडधुपमा रहेको उहाँले बताउनुभयो ।

राजनीतिलाई देखाएर अरू श्रोत साधन दुरुपयोग गर्ने काममा आफूलाई वैकल्पिक भनिएका शक्तिहरू अब्बल देखिएका बस्नेतले बताउनुभयो । टेलिभिजन खोल्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रहकारीको रकम हिनामिना गरेको तर्फ उहाँको सङ्केत थियो ।