ललितपुरका सीडीओ र एसएपीको जिम्मेवारी खोसियो, पण्डितलाई गृह शाहलाई हेडक्वाटर

काठमाडौं, १४ पुस । बालकुमारी घटनामा राम्रो समन्वय गर्न नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई गृहमन्त्रालयले एक्सन लिएको छ । गृह मन्त्रालयले शनिबार उपप्रधान एवम गृहमन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय तानेको छ ।

त्यस्तै ललितपुरका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएपी) सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानेको छ । छानविन समितिको काम प्रभावकारी ढंगले अघि बढाउन दुबै जनाको जिम्मेवारी खोसेको गृहमन्त्रालयको भनाइृ छ ।

त्यसैगरी घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको गृहले जानकारी दिएको छ ।

शुक्रबार ललितपुर महानगरपालिका वडा नं ८ बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो ।