नेपाली भ्लगर उमा चाम्लिङ गान्तोकबाट पक्राउ

काठमाडौं, १५ पुस । नेपाली भ्लगर उमा चाम्लिङ राई सिक्किममा पक्राउ परेकी छिन् । सामाजिक सद्भाव बिथोलेको आरोपमा उनी त्यहाँ पक्राउ परेकी हुन् । सिक्किम सरकारले गत २६ डिसेम्बरमा दक्षिण सिक्किमको नाम्चीमा आयोजना गरेको साकेला उत्सवमा सहभागी बन्न उनी त्यहाँ पुगेकी थिइन् । उनी सिक्किमको राजधानी गान्तोकबाट पक्राउ परेकी हुन् ।

पश्चिम सिक्किमको लेक्सेपमा राई समुदायले आयोजना गरेको साकेला उत्सवको प्रचार गर्दै भिडियो पोस्ट गरेकी उनलाई मुख्यमन्त्री पीएस गोलेको निर्देशनमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गर्दै सामाचार लेखेका छन् । सत्तारुढ पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का एक नेताको भनाइलाई आधार मान्ने हो भने नेपाली भ्लगरलाई प्रयोग गरेर साम्प्रदायिक हिंसा भड्काउन खोजेपछि राईलाई पक्राउ गरिएको हो ।

चाम्लिङलाई ५ दिनका लागि अदालतमा म्याद थप गरी शनिबार हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको सिक्किम प्रहरीले जनाएको छ । उनलाई गैरकानुनी गतिविधि रोकथाम ऐन (यूएपीए) अन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ ।

भारतको मूलधारको मिडिया इन्डिया टूडेले आगामी चुनावलाई लक्षित गरेर उमा राईले ‘साम्प्रदायिक’ तथा ‘आतङ्ककारी हिंसा’ भड्काउन षडयन्त्र गरेको आरोपमा उनलाई पक्राउ गरेको लेखेको छ । त्यस्तै भारतीय समाचार एजेन्सी पीटीटआईले पनि साम्प्रदायिक हिंसा भड्काउने भिडिओ राखेका कारण उनलाई भारतको मुलुकी अपराध संहिता अनुसार पक्राउ परेको उल्लेख गरेको छ । अन्य मिडियाले पनि प्राथमिकताका साथ समाचार छापेका छन् ।