आज टोपी दिवस
काठमाडौँ, १६ पुस । ईस्वी संवतको नयाँ वर्ष सन् २०२४ को पहिलो दिन आज नेपालमा राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।
आज नेपालीले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नेपाली टोपी लगाउनेको संख्या बढिरहेको छ ।