लामिछानेको आरोपमा गृहमन्त्रीको जवाफः केही गर्ला कि भन्ने लागेर पहिल्यै खुट्टा नउचाल्नु’
काठमाडौं, १६ पुस । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जवाफ फर्काउनु भएको छ । सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले गृहमन्त्रीलाई लक्षित गर्दै ‘बरू समुन्द्रमा हराएको टाइटानिक भेटिएला तर तपाईंको नैतिकता भेटिन्न, म त्यता जादिनँ’ भन्दै उत्ताउलो आरोप लगाएर विदा हुनुभएको थियो ।
बैठकमा लामिछाने पूरा समय नबसेपछि गृहमन्त्री श्रेष्ठले पटकपटक लामिछानेप्रति लक्षित गर्दै आरोपको खण्डन मात्रै गर्नुभएन । उहाँले लामिछानेले आफूले गरेको गल्ती पहिले कुनै कानूनीरूपमा छुट पायो सधैँ त्यस्तो नहुने चेतावनी समेत दिनुभयो । गृहमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै लामिछानेले आफूलाई केही गर्ला कि भन्ने लागेर पहिल्यै खुट्टा उचालेको हुनसक्ने टिप्पणी गर्नुभयो । ‘आफूले गरेको गल्ती चाहिँ पहिले कुनै कारणले कानूनीरूपमा छुट पायो भन्दैमा पछाडि त्यस्तै हुन्छ भनेर कल्पना गर्न भएन । त्यस्तो हुन्न । दोष छ भने सबैलाई कारबाही हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर, प्रतिशोधशून्य हुनै सक्दैन । तर, केही गर्ला कि भन्ला भनेर खुट्टा उचालेपछि भाग्न पाउँछु भन्ने हुँदैन ।’
लामिछानेले गृहमन्त्रीले गृहमन्त्रीले प्रहरीमाथि हस्तक्षेप गरेर काम गर्न नदिएको समेत गम्भीर आरोपसमेत लगाएपछि रुष्ट बन्नुभएका श्रेष्ठले त्यसको जवाफ दिँदै भन्नुभयो– ‘राजनीतिक हस्तक्षेप करिब करिब, १०० प्रतिशत त कसरी भनौं सरकार भन्या गृहमन्त्रीमात्रै होइन, अहिले पूरै प्रहरी संगठनलाई आफ्नो मापदण्डअनुसार काम गर्नको लागि वातावरण बनाइएको छ । अहिलेमात्रै होइन ५० वर्षपछि पनि म दोषी देखिए जिम्मेवारी लिन तयार छु प्रोमोसन गर्दा, सरुवा गर्दा पैसाको चलखेल शून्यमा झारिएको छ ।’
६० किलो सुन काण्डमा आफ्नो मान्छे जोगाउन राजस्व अनुसन्धानबाट सीआईबीमा ल्याएको आरोपको पनि मन्त्री श्रेष्ठले खण्डन गर्नुभयो ।
‘उहाँ हुनुहुन्न के भन्ने र’ श्रेष्ठले लामिछानेको कुर्सी देखाउँदै भन्नुभयो,’ ‘त्यो माग गर्नेमध्ये उहाँ हो एउटा । यो त संगठित अपराध हो नि, राजश्व अनुसन्धानमा राखेर हुन्छ भनेर माग गर्ने मध्ये एउटा उहाँ हो ।’ सबै दलहरुले माग गरेपछि प्रधानमन्त्रीकै नेतृत्वमा प्रहरी, राजश्व सबै बसेर अन्तरदेशीय अपराध भएकाले सीआईबीलाई अनुसन्धान गर्न दिने निर्णय लिएको र त्यो निर्णय गरेपछि ठीक गर्नुभयो भनेर लामिछानेलले धन्यवाद दिएको पनि उहाँले बताउनुभयो ।