स्याङ्जावासीहरूको चिनारी : स्याङ्जाको म माटो स्याङ्जाकै म पानी

कमलमणि देवकोटा

“स्याङ्जाको म माटो स्याङ्जाकै म पानी
यसमै हुर्क्यो शैशव मेरो यसमै प्राण जवानी”

स्याङ्जाको म माटो स्याङ्जाकै म पानी गीत एकपटक धीत नमेटिएपछि दुई पटक मज्जाले सुने। बडो आनन्दानुभूति भयो।

गीत सुनेपछि केही शब्द भाव नलेखी बस्न यो मनले मान्दै मानेन। तर गहिरो समालोचनात्मक शब्दमा होइन, एउटा सङ्गीतप्रेमी स्रोता एवम् दर्शकको हैसियतले भन्नु पर्दा गीत, जन्मभूमिप्रतिको अगाध श्रद्धाले ओतप्रोत छ।

यसले स्याङ्जाको संक्षिप्त परिचयको क्रममा त्यहाँको माटोको सुगन्ध एवम् प्राकृत स्वरूपको यथार्थतालाई आत्मसात गरेको छ। अब यो गीत केवल यसका गीतसङ्गीत सर्जकहरूमा मात्र सिमित नभएर समस्त स्याङ्जावासीहरूको र समग्रमा राष्ट्रवासी सबैको निम्ति नै गौरवशाली एक साझा चिनारी बनेको छ।

जसरी उनै युगकवि सिद्धिचरण श्रेष्ठका शब्द र स्वरसम्राट नारायण गोपालको स्वरमा सजिएको ‘मेरो प्यारो ओखल ढुङ्गा’ बोलको अजर-अमर गीतले जो कोहीको मन लोभ्याउँछ, यो हृदयस्पर्शी गीत पनि साँच्नै नै आफैँमा सुमधुर र कर्णप्रिय मात्रै नभएर स्याङ्जाको चिनारी बोक्न सफल राष्ट्रकै गौरव हुनेछ।

यसको छायाङ्कनमा स्वयम् गायक सत्यराज आचार्य पनि थोरै भएपनि साङ्गीतिक दृश्यमा कतै देखिएको भए अर्थात् छायाङ्कनमा समेटिएको भए झनै आयाम थपिन्थ्यो कि ? साथै सबै मौसमी दृश्य एवं त्यहाँका उपजहरू अझ धेरै समेट्न पाएको भए ‘सुनमा सुगन्ध’ झैँ हुन्थ्यो। अतः यति ओजपूर्ण गीतलाई छायाङ्कन गर्न अलि हतार गरियो कि ?

हुन त ‘उपदेश दिन जति सजिलो हुन्छ, तर उपाए बताउन भने कठिन हुन्छ’ भनें झैँ सबै काम कुरामा धेरै कुरा पूर्ण गर्न त्यति भनेजस्तो सहज त हुँदैन पनि । जेहोस् स्वयं गीतकार नारायण नेपालकाे अभिनयले यसमा अभाव खट्किन दिएको भने छैन। उहाँको अव्वल दर्जाको गीतमा केही हदसम्म भए पनि कलाकारको भूमिका समेत निभाउन सफल हुनुभएको छ।

हो ‘नम्बरी सुनमा कसी लगाउनु पर्दैन’ भने झैँ बुझ्नु पर्ने हुन्छ । जे जति विषयवस्तुहरू यसमा समाविष्ट छन् यिनै प्रतिनिधिमूलक हुन् र यिनैले नै त्यहाँको समग्रता बोकेका छन् भन्ने कुरा यो टिप्पणीकार अर्थात् गीतसङ्गीतप्रेमीले आत्मसात गरेको छ।

समग्रमा साँच्चै नै गीतसङ्गीत साधक केवल एउटा स्रष्टा मात्र होइन आफ्नो जन्मभूमिप्रति अगाध आस्थाले ओतप्रोत द्रष्टा पनि हो र उसले थोरै भए पनि जन्मभूमिप्रतिको ऋण तिर्नु महान कर्तव्य ठान्यो भन्ने कुरालाई साकार पार्न नेपाल सफल हुनुभएको छ भन्दा यसमा कुनै अतिशयोक्ति नहोला ।

अन्त्यमा, जन्मभूमिप्रतिको आस्था एवं राष्ट्रभावले ओतप्रोत यस कालजयी गीतका गीतकार नारायण नेपाल, मीठो सङ्गीत दिएर कर्णप्रिय बनाउन सफल एकदमै सरल स्वभावका धनी अर्थात् गिनिजबुक अफ वर्ल्ड रेकर्डरमा नामाङ्कित गर्न सफल विश्वकीर्तिमानी सङ्गीतकार सन्ताेष श्रेष्ठ यसैगरी कर्णप्रिय स्वरका धनी सत्यराज आचार्यलगायत श्रव्यदृश्यकमा संलग्न सबैप्रति साधुवाद !