रूस–युक्रेन युद्धमा स्याङ्जाका २३ वर्षीय युवा मारिए
काठमाडाैं, १७ पुस । रूस–युक्रेन युद्धमा स्याङ्जाका एक जना नेपाली मारिएका छन्।
रूसी फौजमा भर्ती भएका स्याङ्जा वालिङका २३ वर्षीय हरि अर्याल मारिएको वडा नम्बर १४का अध्यक्ष राजु कुँवरले पुष्टि गरेका हुन्।
यद्यपि परराष्ट्र मन्त्रालयले भने यसको जानकारी दिइसकेको छैन।
रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए । ‘मलाई आजै परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको थियो’ उनले भने ।
उनी गत कात्तिक ३ गते मात्रै रूस गएको वडाध्यक्ष कुँवरले बताए। ‘मारिएका अर्याल दुबई हुँदै त्यहाँ पुग्नुभएको रहेछ। चार दिन दुबईमा ट्रान्जिट पारेर रूस पुगेको र त्यहाँको फौजमा भर्ती भएको खुलेको छ,’ उनले भने। अर्याल पूर्वसैनिक रहेको पनि वडाध्यक्ष कुँवरले बताए।
अनौपचारिक माध्यमबाट यसअघि नै अर्याल मारिएको खबर आए पनि सरकारी संयन्त्रले नै त्यसको पुष्टि गरेको उनले बताए।