राष्ट्रियसभामा एमालेलाई समेट्ने प्रचण्ड प्रयासः टीआरसीमा सहमतिको रणनीति

काठमाडौंं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) सँग सम्बन्धित विषयमा सहमति जुटाउने दौडधूपमा हुनुहुन्छ ।
उहाँले त्यो विषयसँग सम्बन्धित रहेर नेपाली कांग्रेस र नेकपा (एमाले) सँगै संवादलाई पनि बाक्लो बनाउँदै आउनु भएको छ । एमालेले सहयोग नगरेको अवस्थामा यो विधेयक अघि बढ्ने संभावना छैन । अहिले संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन अवस्थामा छ ।
यसैबेला राष्ट्रियसभा निर्वाचनको विषय पनि उठिरहेको छ । यहि माघ ११ गते २० सीटका लागि हुने राष्ट्रियसभा निर्वाचनको निर्वाचनको विषयलाई लिएर सीट भागबन्डामा सत्ता गठबन्धन छलफलमा जुटिरहेका छन् ।
सत्ता गठबन्धन एक ठाउँमा भएको अवस्थामा राष्ट्रियसभाको आगामी निर्वाचनमा एमालेले ९ सिट गुमाउने निश्चित जस्तै छ । तर, प्रधानमन्त्री प्रचण्ड अहिले एमालेलाई पनि निर्वाचनमा समेटेर लैजाने प्रयासमा रहेको बुझिएको छ ।
प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि साथमा लिएर जानका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत सकारात्मक बनाउने प्रयास गरिरहेको बुझिएको छ । यता एमालेले भने अहिले नै गठबन्धनसँग राष्ट्रियसभा निर्वाचनमा भाग खोज्न जाने मनस्थितिमा नरहेको जानकारी दिदैँ आएको छ ।
आज दिउँसो तीन बजे राष्ट्रियसभा निर्वाचनको सीट भागबन्डाको विषयलाई लिएर सत्ता गठबन्धनले छलफल गर्दैछ । सत्ता गठबन्धनको बैठक लगत्तै एमालेसँग छलफल गर्ने तयारी भएको छ । त्यसका लागि एमालेलाई ५ बजेका लागि बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभएको छ ।
आजको साँझ ५ बजेको छलफलमा प्रधानमन्त्री प्रचण्डसँगै कांग्रेस सभापति देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पनि हुने र त्यहाँ टीआरसीका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । टीआरसीमा सहमति जुटाउन एमालेलाई पनि साथमै लिएर जाने प्रचण्डको रणनीतिलाई एमालेले साथ देला वा नदेला त्यो भने हेर्न बाँकी नै छ ।