एमजीको चार्जमा हालेको इलेक्ट्रिक गाडीमा मध्यराती कसरी भयाे आगलागी ?

काठमाडौँ, १८ पुस । एमजीकाे विद्युतीय गाडीमा आगलागी भएको घटना बाहिर आएको छ । काठमाडाैं बूढानीलकण्ठमा घर नजिकै पार्किङमा राखेर चार्ज गरिएकाे बागमती प्रदेश–०१–०२७ च १५८१ नम्बरको जेडएस ईभी गाडीमा एकाएक आगलागी भएको थियाे ।
उक्त गाडीका धनी गोरखाको नामजुङका सुदीप लामिछानेको भएको खुलेको छ । पुस ८ गते अर्थात् क्रिसमस इभको साँझ पार्किङ गरेर राखिएको उक्त गाडी राति १ बजे एकाएक आगलागी भएको थियो । उक्त आगलागीको घटना सुरुमा गुपचुप राख्ने प्रयास भएपनि ढिलोगरी खुलासा भएको हाे ।
चार्जमा राखिएको गाडी मध्यरातमा एक्कासी आगलागी भएपछि के कारणले यस्तो भएको हो भन्नेबारे स्पष्ट हुन नसकेको गाडी धनी सुदीप लामिछानेले मैत्रीन्युजलाई बताए ।
आगलागीको घटनापछि सम्बन्धित कम्पनीसँग लामिछानेकाे कुराकानी भइरहेको जनाइएकाे छ । कम्पनीले पनि निर्माता चाइनिज कम्पनीसँग कुरा गरिरहेको बताइएको छ भने इन्सुरेन्स क्लेमका लागि प्रक्रिया अघि बढाइएको छ ।
स्रोतका अनुसार एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सलेसमेत यस विषय बोल्न चाहेको छैन भने यसबारेमा कम्पनीले आन्तरिक अध्ययन गरिरहेको बताइएको छ ।
लामिछानेले गाडी झन्डै २ वर्ष अघि खरिद गरेका थिए । यसअघि भने गाडीमा त्यस्तो कुनै खराबी नदेखिए पनि अहिले आएर एकाएक आगलागी भएर क्षतिग्रस्त हुन पुगेको बताइएको छ ।
गाडीमा एकाएक आगलागी भएपछि राति नै प्रहरीलाई खबर गरिएको दियो । स्थानीय प्रहरी आइपुगेपछि आगलागी नियन्त्रणमा लिएर आगलागीबारे विवरण टिपाइएकाे छ भने आगलागीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त भएकाे छ ।
चार्जिङका क्रममा आगलागी भएकाे विषयमा थप बुझ्न एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालसहितका अधिकारीहरूलाई सम्पर्क गर्दा कोही पनि सम्पर्कमा आएका छैनन् ।