राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमाले मौन, सत्ता गठबन्धन भित्र खटपट
काठमाडौं, १९ पुस । सत्ता गठबन्धनमा रहेका दलहरु र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बिच पछिल्लो केही दिनदेखि छलफल निकै बाक्लो बन्दै आएको छ । राष्ट्रिय सभाको सिट बाँडफाँटसँगै टीआरसी विधेयक पारितको विषयमा यी दलबिच बाक्लो भेटघाट भैरहेको छ । राष्ट्रिय सभाको १९ सिटका लागि निर्वाचन हुँदैछ । गठबन्धन एकै ठाउँ भएको अवस्थामा १९ वटै सिटमा गठबन्धनले अघि सारेका उम्मेदवार विजयी हुने निश्चित छ ।
यस्तो अवस्थामा संख्याको हिसावमा संसदको दोस्रो ठूलो दल एमाले आफ्नो पनि भाग खाजेपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाका केही सिट दिने तर त्यसका लागि टीआरसी विधेयक पारितमा एमालेले सहमति जनाउनु पर्ने अत्तो थापेको छ । अहिले यहि विषयका कारण राष्ट्रिय सभाको सिट भागबन्डामा अलमल देखिएको छ । स्रोतका अनुसार एमालेले १९ सिट मध्ये कम्तिमा ६ सीट माग गरेको छ । अहिले एमालेका ९ जना सांसदको समयावधि सकिँदै छ ।
टीआरसी विधेयक पारितमा एमाले सकारात्मक भए माग पूरा गर्नेमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिए पनि गठबन्धनमा आवद्ध साना दल भने असन्तुष्ट बनेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पनि एमालेको मागप्रति त्यति नकारात्मक नरहेको बुझिएको छ ।
यहि विषयमा छलफल गर्न बालुवाटारमा आज बिहान बैठक बसेको थियो । विहानको बैठकमा नेपाल कम्युनिष्ट पार्टी समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेलाई सिट दिने विषयमा असहमत देखिएको बुझिएको छ ।
गठबन्धनका प्रमुख दलको उक्त बैठकले भागबन्डाको विषय टुंग्याउन सकेनन् । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि सीट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताउनुभयो । उहाँका अनुसार थप छलफल गर्न बाँकी छ र त्यसका लागि फेरि साँझ वा भोलि बिहान बैठक बस्ने छ । यता एमालेले भने यो विषयमा प्रष्ट धारणा बाहिर ल्याएको छैन ।