एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ वटै पदमा उमेम्दवारी दिने

काठमाडौं, २० पुस । नेकपा (एमाले) राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ वटै पदमा उम्मेदवारी दिने भएको छ। एमाले मुख्यालयमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुलाई जानकार दिदैँ महासचिव शंकर पोखरेलले भन्नुभयो– ‘एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ वटै पदमा उम्मेदवारी दिने निर्णय गरेको छ ।’

सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे प्रारम्भिक छलफल भएको र थप छलफल गरेर पार्टीले निर्णय लिने महासचिव पोखरेलले जानकारी दिनुभयो ।

‘प्रदेश कमिटीले प्रत्येक क्लस्टरमा ३ जनाको नाम सिफारिस गरेको छ। ती नामका बारेमा छलफल गरेका छौं । कतिपय क्लस्टरमा थप छलफल गर्नुपर्ने भएको छ’, पोखरेलले भन्नुभयो, ‘थप छलफल र प्रस्ट भएपछि पुस २३ गते १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौं ।’