खेलमा सफल हुनेहरु व्यवहार र आचरणमा पनि असल हुनपर्छः उपप्रमुख डंगोल

काठमाडौं, २१ पुस । विश्व निकेतन माध्यमिक विद्यालयले महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । १२ स्वर्ण पदकसहित विश्व निकेतन माध्यमिक विद्यालयले प्रथम स्थान हाँसिल गरेको हो । उक्त विद्यालयले पुस १७ गते सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा विद्यालयले स्वर्णसहित २ रजत र २ कास्य गरी १६ पदक प्राप्त गरेको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पदमकन्या माध्यमिक विद्यालय डिल्लीबजारमा आयोजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा पदक र शिल्डसहित विद्यालयलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले, खेलमा सहभागी सबै खेलाडीले कुनै न कुनै रुपमा खेल जितेको बताउँदै खेलमा सफल हुनेहरु व्यवहार र आचरणमा असल हुन सुझाव दिनुभयो ।

प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्ने पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार दोस्रो र ५ स्वर्ण, १३ रजत र ५ कास्य पदक प्राप्त गर्ने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले तेस्रो स्थान हासिल गरेका छन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयहरुलाई क्रमशः ४० हजार रुपैयाँ र ३० हजार रुपैयाँ सहित पुरस्कृत गरियो । ५ स्वर्ण, १ रजत र १ कास्य पदक हासिल गर्ने ज्ञानोदय माध्यमिक विद्यालयले सान्त्वाना स्थान हासिल गरेको छ ।

प्रतियोगितामा छात्रा भलिबलतर्फ वडा नं. ६ मा रहेको जनकल्याण माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरेको छ । कन्या माध्यमिक विद्यालय, न्होखामा विहीबार फाइनल खेल भएको थियो । खेलमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले दोस्रो र कन्या मन्दिर माध्यमिक विद्यालय न्होखाले तेस्रो स्थान हासिल गरे । यस्तै गीताञ्जली कलेजले सान्त्वाना स्थान हासिल गरेको छ ।

पुरुष भलिवल खेलमा न्युटन चिल्डे«न एकेडेमी, बालुवाटारले प्रथम, शान्ति शिक्षा मन्दिर, ठँहिटीले दोस्रो र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजारले तेस्रो स्थान हासिल गरे । कवड्डी खेलमा छात्रतर्फ नासा इन्टरनेशनल कलेज पहिलो भएको छ । भानु माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल ग¥यो । एक्स्पोडेल पब्लिक स्कूल र शान्ति विद्या मा। वि। गरी २ वटा विद्यालयले तेस्रो स्थान हासिल गरे ।

कवड्डी छात्रातर्फ पद्मकन्या माध्यमिक विद्यालयले प्रथम, बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले दोस्रो स्थान हासिल गरे । त्यस्तै कन्या मन्दिर माध्यमिक विद्यालय र कोटदेवी माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेका छन् ।

पुस १७ गते दशरथ रङ्गशालामा राष्ट्रपति रामचन्द्र पौडेलले खेलको उद्घाटन गर्नुभएको थियो । यस सत्रमा नेपाल प्रहरीको व्याण्ड, महानगर प्रहरी बल र करिब ५० वटा विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए । यस्तै संस्कृत माध्यमिक विद्यालयका १२१ जना विद्यार्थीले स्वस्ति वाचन गरेका थिए । उद्घाटन समारोहमा शिक्षक, विद्यार्थीसहित करिब १५ व्यक्तिको उपस्थिति रहेको थियो ।

त्यसपछि सुरु गरिएको खेलमा एथलेटिक्सतर्फ (त्रिपल जम्प विभिन्न दुरीका दौडसहित) का खेल, उसु र कराँते दशरथ रङ्गशालामा भए । तेक्वान्दो खेल तेक्वान्दो प्रशिक्षणालय सातदोबाटोमा भयो । कन्या मन्दिर माध्यमिक विद्यालय, न्योखा, क्षेत्रपाटीमा छात्रछात्रा कबड्डी र छात्रा भलिवल खेल भए । कन्या विद्याश्रम मावि डिल्लीबजारमा पुरुष भलिवल खेल भयो ।

खेलमा ३ हजार २५० जना छात्रछात्रा खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा भलिवल खेलमा ८ सय जना, कबड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा अधिकारी सिताराम कोइरालाले, खेलमा सहभागी कोही पनि विद्यार्थीले नहारेको बताउनुभयो । खेलबाट जागृत भएको आत्मविश्वाशले आउँदा दिनका प्रतिस्पर्धामा आफूलाई अझ बलियो बनाउन सकिने उहाँको भनाइ थियो ।