बरहथवा गोलीकाण्ड : साहको शव सडकमै, पीडितहरूले गरे बन्द

सर्लाही, २२ पुस । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहकाे शव सडकमै राखेर पिडित परिवारले बजार तथा यातायात बन्द गराएका छन् ।

मृतक साहका आफन्त र स्थानीयले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राख्दै बजार तथा यातायात बन्द गराएका हुन् ।

उनीहरूले सडकमा टायर बालेर, प्रहरी प्रशासन र सरकारविरुद्ध नाराबाजी गरेर बजार तथा यातायात बन्द गराएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने/नगर्ने विषयमा विवाद चर्केपछि ५ दलले आह्वान गरेको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर सर्लाही होटलका सञ्चालक साहको मृत्यु भएकाे थियाे ।

गृह मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । तर पीडित परिवारले राखेको ८ बुँदे माग पुरा हुनुपर्ने अडान राखेको छ ।

शनिवार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा मृतक परिवारलाई बोलाएर प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सहमतिको प्रयास गरेपनि पिडितहरूले माग सम्बोधन नगरेसम्म सहमति नगर्ने अडान लिएपछि सहमति हुन सकेन ।