‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार
काठमाडौँ, २२ पुस । निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नव कलाकार प्राप्त गर्ने बताउनुभयो । शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा उहाँले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पुरानाझैँ काम गरेको जानकारी दिनुभयो ।
“अहिलेका कलाकार सम्पूर्णरूपमा तयार भएर आउनुहुन्छ । उहाँहरू नाममात्र नयाँ हो, काममा परिपक्व हुनुहुन्छ”, निर्देशक श्रेष्ठले भन्नुभयो, “मैले आफ्ना अघिल्ला चलचित्रमा पनि नयाँलाई अवसर दिएको छु । किनकि हामी पुराना चलचित्रकर्मीले आँट गरेनौँ भने अरुले गर्दैनन् ।”
यद्यपि निर्देशक श्रेष्ठले अहिले नयाँ कलाकारलाई अवसर दिँदा केही सास्ती भने खेप्नुपरेको अनुभव सुनाउनुभयो । “नयाँलाई अवसर दिँदैनन् भनिन्छ, अवसर दिँदा चलचित्र भवनदेखि विभिन्न स्थानमा सङ्घर्ष गर्नुपर्ने हुन्छ । मेरो तीन दशकको चलचित्र यात्रामा नौलो अनुभव गरिरहेको छु”, निर्देशक श्रेष्ठले भन्नुभयो । उहाँले नयाँलाई काम देखाउने मौका दिन आग्रह पनि गर्नुभयो । नव कलाकार अभिनेता श्रेष्ठले आफूलाई ठूलो पर्दामा देख्ने सपना पूरा हुनलागेको बताउनुभयो ।
“मैले मण्डला थिएटरमा झण्डै १३ बढी नाटक गरिसकेँ । सात वर्षपछि बल्ल चलचित्रमा अभिनयको सुरुआत गरेको छु”, अभिनेता श्रेष्ठले भन्नुभयो, “म कलात्मक र व्यावसायिक दुवै चलचित्र गर्न चाहन्छु । परिपक्व समूहसँग काम गर्न पाउँदा आभारी छु ।”
अभिनेत्री बुढाथोकीले पहिलो चलचित्र भएता पनि निर्देशक श्रेष्ठसहितको समूहका कारण काम गर्न सहज भएको बताउनुभयो । “मैले आफूलाई नयाँजस्तो कहिले महसुस गरिनँ । सबैले मलाई सहज बनाएकै कारण आफ्नो भूमिकालाई जीवन्त बनाउन सफल भएँजस्तो लाग्छ । यसकारण पनि यस क्षेत्रमा निरन्तरता दिन उत्साहित भएकी छु”, अभिनेत्री बुढाथोकीले भन्नुभयो ।
चलचित्रका निर्माता राजाराम बुढाथोकीले नेपालसँगै सिक्किमको मनोरम दृश्यमा चलचित्रको छायाँकन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा सङ्गीतकार महेश खड्का, गायक प्रमोद खरेल, अभिनेत्री सुनिता श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो । चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राईले पनि अभिनय गर्नुभएको छ ।