राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तागठबन्धनमा सिट बाँडफाँट
काठमाडौँ, २२ पुस : राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १९ सिटमा सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो ।
शनिबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकमा दलहरु भागबण्डाका लागि सहमतिनजिक पुगेका थिए । तर एकीकृत समाजवादीले तीन सिटमा दाबी गरेपछि आज बिहान पुनः गठबन्धनको बैठक बसेको थियो ।
उहाँका अनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले छ, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको छ । बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ ।