बरहथवा गाेली काण्ड : पीडित परिवार र प्रशासनबीच ११ बुँदे सहमति

काठमाडौं, २३ पुस । सर्लाहीको बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विवादमा भएको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको ज्यान गएको घटनामा तीन दिनपछि पीडित परिवार र प्रशासनबीच सहमति भएको छ ।

सहमतिसँगै घटनास्थलबाट साहको शव उठ्नुका साथै पोस्टमार्टम भएको छ । मधेश प्रदेशका मन्त्री र सांसदहरूको उपस्थितिमा आइतबार पीडित परिवार र प्रशासनबीच ११ बुँदे सहमति भएपछि मात्रै पीडित परिवारले मृतक साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लान अनुमति दिएकाे थियाे ।

पीडित परिवार र प्रशासनबीच मृतक साह परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने, प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने, अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक साहको शालिक स्थापना गर्ने, मृतकलाई शहिद घोषणा गर्न सम्बन्धित निकायमा सिफारिस गर्नेलगायतका ११ बुँदे सहमति भएको छ ।

घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा छानबिन समिति बनाइसकेको छ । साथै मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय पनि गृहले गरेको छ । छानबिन समितिलाई सबै पक्षले आ-आफ्नो तर्फबाट घटना सम्बन्धमा स्वतन्त्र निष्पक्ष छानबिन गर्न सहयोग गर्ने सहमति पनि भएको छ ।

गत शुक्रबार दिउँसो बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको प्रहरीकाे गाेली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।