राष्ट्रिय सभा निर्वाचनमा रिक्त १९ सिटमा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता

काठमाडौं, २३ पुस । आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा रिक्त १९ सिटमा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता छ। निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट ५ जनाको मनोनयन दर्ता भएको छ ।

त्यस्तै मधेश प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

कर्णाली प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, अपाङ्गलता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुनेछ ।