एमालेको समेत समर्थनमा कोशीमा अम्बरबहादुर बिष्ट सभामुख निर्वाचित
काठमाडौं, २४ पुस । कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर बिष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले बिष्ट निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्ति प्रसाद सिटौला तथा समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख दनुवारले निर्विरोध निर्वाचित गरेको घोषणा गर्नुभयो ।
सभामुखका लागि बिष्टको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि बिष्टलाई समर्थन गरेको हो।
कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठकले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभामुख पाए सघाउने निर्णय गरेको थियो । ‘प्रदेशमा गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे सघाउने निर्णय हामीले गरेका थियौँ,’ एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भन्नुभयो, ‘त्यहि अनुसार भएपछि हामीले पनि सहयोग गरेका हौँ ।’
राप्रपाले समानुपातिक सांसद बिष्टलाई सभामुख बनाएको हो । सरकार गठनको रस्साकस्सीमा कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि प्रदेशमा लामो सयम सभामुख पद रिक्त थियो ।