२०.६२ अंकले बढ्याे नेप्से
काठमाडाैं, २४ पुस । मंगलबार नेप्से परिसूचक २०.६२ अंक बढेर २०८०.१२ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.६४ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको १ लाख ४ हजार पटकको कारोबारमा ६ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बराबरको १ करोड ७९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन विकास बैंक उपसमूहको परिसूचक ५.२१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक साढे ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन घटेको छ।
यस दिन ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, अप्पर सांगे हाइड्रोपावर, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेपाल वेयर हाउजिङ्ग, तेह्रथुम पावर र ग्रीन डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.१९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन निफ्राको साढे १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सोल्टी होटलको कारोबार रकम साढे १७ करोड नाघेको छ।