तपस्वी बम्जनलाई सर्लाही प्रहरीमा बुझाउने तयारी
काठमाडौं, २५ पुस । तपस्वीको आवरणमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोपमा पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले सर्लाही प्रहरीलाई बुझाउने तयारी गरेको छ ।
अनुयायीको हत्या र बलात्कारको आरोपमा मंगलबार पक्राउ परेका बम्जनलाई सर्लाहीमा हाजिर गराउने तयारी गरेको सीआइबीले जनाएकाे छ ।
सीआइबीका अनुसार हिजो बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले त्यहाँ हाजिर गराउन लागिएको हो ।
बम्जनले बलात्कार गरेको तथा केहीलाई बेपत्ता पारेको आरोपमा सीआइबीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो ।
बमजनलाई प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट पक्राउ गरेको थियो। प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए।