बम्जनविरुद्ध सुनुवाइ सुरु
मलङ्गवा, २६ पुस । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ ।
जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो ।
हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।
बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले करोडौं रकमसहित सार्वजनिक गरेको थियो । ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर बम्जनलाई उनको घरमा भेटिएको करोडौं रूपैयाँसहित सार्वजनिक गरिएको हो ।
ब्यूरोले बम्जनले चढ्ने गरेको प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडीका साथ, क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको जनाएको छ ।
बम्जनको घरबाट प्रहरीले नेपाली रूपैयाँ ३ करोड ३ लाख ७५ हजार ५०० र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ । साथै उनको साथबाट मोबाइल १४ थान, गाडीको चाबी १ थान, विभिन्न ब्राण्डको पेनड्राइभ २० थान, भोइस रेकर्डर १ थान, विभिन्न ब्राण्डको मेमोरी कार्ड २ थान, आईप्याड र ट्याब ५ थान र अन्य मागजातहरु बरामद भएको सीआईबीले जनाएको छ ।