प्रधानमन्त्रीलाई एमाले सांसद बर्तौलाको हुङ्कारः तपाईँको राष्ट्रघाती कामलाई स्वीकार गर्न सकिन्न

काठमाडौँ, २६ पुस । नेकपा ( एमाले) का सचेतक महेश बर्तौलाले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका असहमतिका विषयमा सहमतिमा टुङ्ग्याउन सकिने र सकिएनभने प्रक्रियाबाट पनि निष्कर्षमा पुर्याउन सकिने बताउनु भएको छ ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । ‘विधेयकका असहमतिका विषय सहमतिमा टुङ्ग्याउन सक्छौँ, यदि सहमति भएन भने विधेयक निर्माणको आफ्नै प्रक्रिया छ’ , उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै बर्तौलाले भारतीय दूतावासलाई नेपालमा २० करोड रूपैयाँसम्मका आयोजनामा सीधै खर्च गर्न दिने गरी भएको सम्झौता राष्ट्रघात भएको उल्लेख पनि गर्नुभयो । सरकारले गरेको सम्झौता सदनलाई जानकारी गराउनु पर्ने उहाँको माग थियो ।
‘नेपालको संविधानको धारा ५ बमोजिम अहिलेको सम्झौता हो ? नेपालको स्वाधीनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रतालाई जोगाउने गरी यो सम्झौता भएको छ ? यो कुरा तपाईं भन्न सक्नुहुन्छ ? तपाईं यो सम्झौताप्रति गर्व गर्दै हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘तर, यो सम्झौताले देशको राष्ट्रघातको जरा काट्ने काम भएको छ ।’
उहाँले संविधानविपरीत र राष्ट्रहित प्रतिकूलको आचरण गर्ने कुरा भएको भन्दै दण्डनीय हुने दाबी गर्नुभयो । ‘सरकारले नेपालको चार किल्लाभित्र एक रुपैयाँ खर्च गर्न पनि संसदको अनुमत चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘संसदले अनुमति नदिएसम्म खर्च गर्न सक्दैन। तर, एउटा देशले आफूले चाहेको योजनामा गर्न मिल्दैन। त्यो स्वीर्कान सक्दैन । राष्ट्रघात हो ।’