दियालो बालेर परम्परागत ‘भुवो पर्व’ मनाइयो

हुम्ला, २६ पुस । हुम्लाका विभिन्न गाउँ बस्तीमा परम्परागत भुवो पर्व मनाइएको छ । बुधबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको हो ।
जिल्लाका अधिकांश गाउँपालिकामा आआफ्नो गाउँ टोलबाट सुरु भई विभिन्न बस्तीमा सल्लाको दियालो सल्काएर गाउँको पाइकपर्ने स्थान (भुवाखाडो)मा जम्मा भई भुवो नाच, फाक, चाँची, गीत गाएर रातभरि जाग्रम बस्ने चलन छ ।
हिउँद खेतीपातीबाट फुर्सद हुने समय भएकाले भुवो पर्व हुम्लाका सबै गाउँमा परापूर्वकालदेखि मनाउने चलन छ । योे पर्वमा सबैले मीठामीठा खानेकुरा एकआपसमा बाँडीचुँडी खाने परम्परा छ ।
ठेहे गाउँका लागि विशेष पर्व
जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या र घर एकआपासमा जोडिएर ठूलो  बस्ती रहेको सिमकोट गाउँपालिका–१,२ ठेहे गाउँमा भुवो पर्वलाई दसैँ, तिहारको जस्तै महत्वका साथ यो पर्व मनाउने गरेका छन् । गाउँभन्दा टाढा सरदमुकाम, अन्य गाउँबस्तीमा कामको सिलसिलामा रहेका ठेहेका बासिन्दा यो दिन घर आइपुग्छन् ।
टाउको सेतो पटुकी, घाँटीमा पहेंलो कपडा, ऊनी बक्खु र कम्मरमा सेतो पटुकी बाँधेर भुवाखाडोमा पुरुष जम्मा हुने गर्छन्भने धामीझाँक्रीले सेतो बक्खु लगाउने प्रचलन छ ।
युवा पुस्ताले भने गाउँमा कुटुम्बकी छोरीसँग पानी मागेर ठटेउली शब्द बोलेर रमाइलो गर्ने चलन रहेको रावलले बताउनुभयो । ठेहे गाउँमा बोहरा थरका युवाले भण्डारी र रावल थरका युवाले बोहरा थरका युवतीसँग पानी माग्दै उनीहरुका बुवाबाजेको नाम पुकार्ने चलन छ । एक टोलबाट कुटुम्बको अर्को टोलमा गएर पानी माग्ने चलन रहेको छ ।  बुढापाका भने रातभरि जाग्राम बसी भुवो देवता, देवीदेवताका भोजन, फाक, चाँची  गाएर भुवोको अगेनु वरिपरि बसी गीत गाउने चलन रहेको सिमकोट गाउँपालिका–२ का हुनी बोहराले बताउनुभयो ।
आज बिहानपख दियालो सल्काएर गाउँ नजिकै खोला वा मुल पानीको धारो नजिकै भुवो विर्सजन गरी स्ननान गरेका छन् । हिउँदयामको माइनसमा झरेको तापक्रमको चिसोको कुनै पर्वाह नगरी नुहाउँछन् । बिहान सबेरै आफ्ना मान्यजनको घरमा गएर ढोक गर्ने चलन रहेको बोहराले बताउनुभयो । राती भुवो खेल्दा मान्यजनको नाम पुकारेर गरेको गालीको माफी माग्न ढोग गर्न जाने चलन  छ । आज दिनभरि नाङ्गो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शनका खेल, चँुढाल (तरबार) नाच, फुर्का खेल खेल्ने चलन भएको उहाँले बताउनुभयो ।
महाभारतको स्मरणमा भुवो पर्व
महाभारतका पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसीयाली मनाएको दिनलाई स्मरण गर्दै हुम्लाका विभिन्न गाउँमा भुवो खेल्ने गरिन्छ । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धकाबेला पाण्डवको सङ्घर्ष, जङ्गलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवोका गीत गाइन्छ । वनबासमा पाण्डवका भाइ पुगेको ठाउँमा छोडेको चिनारी भएको आसपासमा यो पर्व बढी मनाउने चलन रहेको बौद्धिक व्यक्ति तथा शिक्षक सूर्यमणि बोहराले बताउनुभयो । भुवाखाडामा मुणा जम्मा गर्ने र भुवा औँसीको अघिल्लो दिन राति मुढा सल्काइ रातभरि देउडा, भुवो गीत, फाँक, चाँची, भोस्सो, खेल्ने चलन रहेको बोहराले बताउनुभयो ।
शिक्षक बोहराले भन्नुभयो, “आज दिउँसो दायाँ हातमा तरबार र बायाँ हातमा ढाल समाइ बाजाको तालमा तरवार नाच नाच्ने चलन छ । पौराणिककालमा पाण्डव र कौरवबीच लडाईं हुँदा एक हातमा तरबार र अर्को हातमा ढाल समाइ गरेको सम्झनामा तरवार नाच खेल्ने गरिन्छ ।” उहाँले भन्नुभयो, राति राँकेजुलुसको अर्को विशेषता पाण्डव र कौरवको लडाईंमा रातपरेपछि उज्यालोको आवश्यक भएपछि राँको सल्काई लडाईं सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँकेजुलुस निकाल्ने गरिन्छ । बोहरा थरका पुरुषले प्रत्येक टोलमा राँकेजुलुस निकालेर काठका दाउरा(मुणा) माग्ने गर्छन् ।
पछिल्लो समय भुवो पर्वप्रति युवाको आकर्षण घट्दै गएको स्थानीय बासिन्दाले बताएका छन् । यो पर्व हुम्लाका ठेहे, ताक्ला, राया, सर्किदेउ, उनापानी, रोडीकोट, राहदेव श्रीमष्ठा, मेल्छाम, दार्मा, मिमी, जैर, कालिका, श्रीनगर, मैला र मदाना गाउँमा भव्यरुपले मनाएका छन् ।