राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई
कर्णाली, २७ पुस । वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
सशस्त्र प्रहरी बल (एपिएफ) र पुलिस क्लबबीच आज भएको फाइनल खेलमा ३–१ (तीन सेट) जितेर पुलिस क्लबले उपाधि चुम्न सफल भएको हो । खेलको सुरुमा एपिएफले २५–२२ ल्याएर पुलिस क्लबलाई हरायो । दोस्रो, तेस्रो र चौथौँ खेलमा भने पुलिसले लगातार तीन सेट लिन सफल भयो । पुलिसले क्रमशः २५–१९, २५–१८ र २५–२३ अङ्क ल्याएको थियो ।
समूह चरणमा एपिएफसँग हारमा भोगेको पुलिस क्लबले आजको फाइनल खेलमा उपाधि हात पारेको छ । समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।
त्यसैगरी समूह चरणको खेलमा आर्मीसँग ३–० को सोझो सेटमा हार भोगेको गण्डकी प्रदेशले तृतीय स्थानका लागि फाइनलमा आर्मीलाई हराएको छ । आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हाँसिल गरेको हो ।
पहिलो सेटमा गण्डकीले २५–२२ ल्याएर जित्यो । अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा बराबरीकै अवस्थामा अन्तिम समयमा २६–२४ अङ्क ल्याएर नेपाल आर्मीले जित्यो । तेस्रो खेलमा गण्डकीले २६–२४ र चौथो खेलमा २५–२२ ल्याएर तृतीय स्थान सुनिश्चित गरेको थियो ।
यही पुस २० गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीय टोलीसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता थियो । समूह ‘ए’ मा पुलिस, एपिएफ, लुम्बिनी, बागमती र कोशी तथा समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेस थिए । खेलमा नेपाल पुलिस क्लबका रविन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।