मेलम्चीको पानी भाेलीदेखि उपत्यकावासीकाे धारामा

काठमाडौं, २९ पुस । मेलम्चीको पानी भाेलीदेखि काठमाडौं उपत्यकावासीले खान पाउने भएका छन् । वर्षाले क्षति पुर्याएकाे मेलम्चीको मुहान क्षेत्र मर्मतपछि उपत्यकावासीले पुनः भाेलीदेखि पानी पाउने भएकाे हाे ।
पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुने छ । त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो । मनसुन सुरु हुनुअघि नै मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं नल्याइएपछि खानेपानीको अभाव झेल्दै आएका उपत्यकावासी प्रदर्शनमा उत्रिएका थिए ।
त्यसपछि ३ पुसमा बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले पानी पथान्तरणको काम २८ दिनभित्र सम्पन्न गरी उपत्यकाका घर-घरमा पानी पुर्याउने निर्णय गरेको थियो । त्यसका लागि ४ पुसदेखि दुई सिफ्टमा जनशक्ति परिचालन गरी पथान्तरणको काम सुरु गरिएको थियो ।
पथान्तरणको काम पुस २७ गते नै सकेर सुरुङमा पानी हालिएको थियो । केही दिन पानी बगाएर सुरुङ सफा गरेपछि उपत्यकावासीका धारामा पानी वितरण सुरु गर्न लागिएको समितिले जनाएको छ ।