आलमविरुद्धको मुद्दाको पेसी स्थगित

काठमाडौं, २९ पुस । कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी जिल्ला अदालत रौतहटका प्राय न्यायाधीश विदामा भएकाले आज स्थगित भएकाे छ ।

इँटाभट्टीमा हालेर जिउँदै मान्छेलाई जलाएको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका रौतहटका मोहमद अफताब आलमको मुद्दामा आज आइतबार पेशी तोकिएको थियाे।

जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले न्यायाधीशहरु विदामा भएकाले पेसी स्थगित भएकाे बताए । उनका अनुसार सात न्यायाधीहरुमध्ये आइतबार दुई जना न्यायाधीशहरु मात्र अदालतमा उपस्थित छन् ।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएकाे भएपनि धेरैजसो न्यायाधीशहरु विदामा भएकाले पेसीमा चढेन ।

गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोपमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।