अपर तामाकोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिनेको भिड, लगानीकर्ता घण्टौ लाइनमा

काठमाडौँ, २९ पुस । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन क्यापिटल र नागरिक लगानी कोषमा आवेदन दिने लगानीकर्ताकाे भिड लागेकाे छ ।

कम्पनी हकप्रदमा आवेदन दिने आज अन्तिम दिन भएकाेले भिडभाड भएकाे हाे । लगानीकर्ताहरू घण्टौ लाइन लागेर आवेदन दिइरहेका छन् ।

कम्पनीकाे हकप्रद सेयरमा लगानीकर्ताले प्रतिकित्ता १५० देखि १६० रुपैयाँको दरले आबेदन दिएका छन् । कम्पनीले १ करोड ७० लाख १९ हजार ३० कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सेयर लिलामीमा ल्याएको हो । उक्त हकप्रद लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

कम्पनीले उक्त हकप्रदको सेयर मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

खरिद गर्ने चाहनेले नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौं, सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौँ र लक्ष्मी सनराइज बैंकको विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, नेपालगंज, सुर्खेत, धनगढी र चरिकोटबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।