नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा छ : प्रधानमन्त्री

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताउनुभएकाे छ ।

आइतवार काठमाडौँमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे । उहाँले ताइवान चीनकै अभिन्न अंग भएको बताउनुभयाे ।

उहाँले ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रष्ट पारेको पनि बताउनुभयाे ।

नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको उहाँले बताउनुभयाे । उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचकाे सम्बन्ध प्रगाढ रहेको बताउनुभयाे ।

प्रधानमन्त्री प्रचण्डले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र नजोडिएको भन्दै उहाँले दुई देशका साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको उनले बताउनुभयाे ।