थानकोट–चित्लाङ सडक तत्काल मर्मत गर्न सरोकारवालालाई सांसद बर्तौलाको ध्यानाकर्षण
काठमाडौं, माघ २ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको तत्काल मर्मत प्रक्रिया अघि बढाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु भएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत भौतिक पूर्वाधार तथा यातायात सचिव केशवप्रसाद शर्मा, संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्याल र सडक डिभिजन कार्यालयका प्रमुख नारायण भण्डारीलाई भेटेर ध्यानाकर्षण गराएको जानकारी दिनुभएको छ ।
‘सरकारले आवश्यक बजेट नदिएका कारण ऐतिहासिक महत्त्वको यो सडकको अवस्था अत्यन्तै कष्टकर बनेको छ। आजको छलफलपश्चात् तत्काल कार्यान्वयन गर्ने गरी केही निर्णयहरूसमेत गर्न लगाएको छु।
उहाँहरूले कार्यालयको तर्फबाट तत्काल काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ, ‘भेटमा सडकको तत्काल मर्मत प्रक्रिया अगाडि बढाउने तथा सडकछेउका जोखिम स्थानहरूमा सुरक्षा वाल राख्न तत्काल प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता प्राप्त भएको छ ।’
उक्त सडकखण्डमा शनिबार कार दुर्घटना हुँदा एकै परिवारका पाँचजनाले ज्यान गुमाएका थिए। सेतो पहरा भन्ने स्थानमा कार दुर्घटना हुँदा दुर्घटनामा ३८ वर्षीय डा. महेशकुमार गौतमसहित उहाँका छोरा चार वर्षीय प्रियांश, ६ वर्षीया छोरी स्मारिका, ६७ वर्षीय ससुरा ओमकारनिधि तिवारी र सासू कल्पना तिवारीले ज्यान गुमाउनु परेको थियो ।