रुसी सेनामा भर्ती भएका लमजुङका गुरुङको मृत्यु

काठमाडौं, २ माघ । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो ।

गुरुङ लमजुङ दुधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष थिए । गुरुङ वैदेशिक रोजगारीका लागि भन्दै गत भदौ पहिलो हप्ता विदेश गएका थिए ।

गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको थियो । युक्रेनको आक्रमणमा परी गुरुङको मृत्यु भएको खबर जर्मनीमा रहेका उनका भाइ कुमारले दिएका थिए ।

गुरुङसहित रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको सख्या १२ पुगेको छ ।