चार ११ को संयोग र केपी ओली कप फुटबल प्रतियोगिता

काठमाडौं, ३ माघ । नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालले केपी ओली कप फुटबल प्रतियोगिता गर्ने भएको छ । दोस्रो संस्करणको यो प्रतियोगिता फागुन ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने युवा संघले जानकारी दिएको छ ।

युवा सघंले २०७९ सालदेखि केपी ओली कप फुटबल प्रतियोगिताको थालनी गरेको हो । पहिलो संस्करणमा नेपालको ‘ए’ डिभिजन क्लबका खेलाडीहरु सभागी भएका थिए । यो पटक युवा संघले नेपालको ‘ए’ डिभिजन क्लबसँगै भारत र भुटानका टिमलाई पनि सहभागी गराउने भएको छ ।

प्रतियोगितामा बिजयी टोलीलाई ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई पाँच लाख रुपैयाँ प्रदान गरिने सो प्रतियोगिताको अन्तिम खेल दशरथ रंगशालामा हुने युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिनुभयो । फाइनल खेल हेर्नका लागि युवा संघले टिकटको व्यवस्था गरेको छ ।

टिकटबाट प्राप्त रकमको ५ प्रतिशत सामाजिक काममा खर्च गर्ने पनि पत्रकार सम्मेलनमार्फछ अध्यक्ष थेवेले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने सो खेलमा चारओटा ११ को संयोग मिलाएको पनि थेवेले जानकारी दिनुभयो । फागनु ११ गतेबाट सुरु हुने खेलमा बिजयी टोलीलाई ११ लाखको दिइने छ । फुटबलको नियम अनुसार एक टिममा ११ जना खेलाडी रहन्छन् भने कार्यक्रमको उद्घाटन युवा संघ नेपालका संस्थापक एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन अर्थात् फागुन ११ गरिने छ । यसरी हेर्दा युवा संघले चार ११ को संयोग पनि यो प्रतियोगितामा मिलाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने युवा संघका महासचिव सुमन पुरीले जानकारी दिनुभयो ।

‘हरेक खेलको म्यान अफ दी म्याचलाई पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने तयारी गरेका छौँ,’ महासचिव पुरीले भन्नुभयो, ‘जहाँ युवा त्यहाँ खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै अघिल्लो वर्ष पनि हामीले फुटवल प्रतियोगिता गरेका थियौँ । हामीले खेलकुदको विकासका लागि चासो जगाउनका लागि प्रतियोगिता आयोजना गरेका हौँ ।’
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरिएको राष्ट्रिय युवा संघ नेपालका प्रवक्त निरोज पौडेलले जानकारी दिनुभयो । ‘गत वर्ष भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो,’ पौडेलले भन्नुभयो, ‘पहिलो संस्करणमा ८ टोली सहभागी थिए ।’ उहाँले प्रतियोगिताको फाइनल खेल दशरथ रंगशालामा र बाँकी खेल एन्फाको टेक्निकल सेन्टर च्यासलमा हुने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै युवा संघका पूर्व अध्यक्ष एवं युवा संघ इञ्चार्ज महेश बस्नेतले युवा संघ खेलाडीहरुको पक्षमा आवाज उठाउनु पर्नेमा जोड दिनुभयो ।