तेह्रथुममा टिपर दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु तीन घाइते

काठमाडौं, ४ पुस । तेह्रथुमको काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

लालीगुराँस नगरपालिका–९ अन्तर्गत काँडेमा भएको दुर्घटनामा झापाको मेची नगरपालिकाका २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक चाैतारा घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरीका अनुसार संखुवासभाका ४० वर्षीय दिनेश तामाङ, झापाका २१ वर्षीय समीर चौधरी र विष्णु थामी घाइते भएका छन् । थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरान पठाइएको छ ।

घाइते अन्य २ जनाको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ । म्याङ्लुङ–वसन्तपुर सडक खण्डको काँडेबाट लसुन बजारतर्फ जादै गरेको टिपर दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ ।