जिल्ला कमिटीलाई एमालेको परिपत्रः १५ प्रतिशत ४० वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व अनिवार्य
काठमाडौं, ४ माघ । नेकपा (एमाले) ले जिल्ला कमिटीमा कम्तीमा १५ प्रतिशत ४० वर्ष मुनिका युवाहरूको प्रतिनिधित्वलाई कढाईका साथ लागु गर्न निर्देशन दिएको छ । एमाले केन्द्रले जिल्ला र प्रदेश कमिटीलाई पठाएको परिपत्रमा यो कुरालाई कढाईका साथ लागु गर्न निर्देशन दिएको हो ।
परिपत्रमा जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरू आयोजकका साथै प्रतिनिधि हुने उल्लेख छ । एमाले महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला कमिटीलाई गरेको परिपत्रमा जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौटको आधार पालिकाका वडालाई बनाउनु पर्ने छ । यस्तै विशेष कमिटीको हकमा शाखा कमिटीलाई बनाउनुपर्ने छ । प्रमाणीकरण गरिएको सदस्यहरूको सूचिका आधारमा प्रतिनिधि छनौटको मापदण्ड बनाई प्रतिनिधि छनौट गर्नुपर्ने छ ।
एमालेले प्रतिनिधिहरूको संख्या अनुपात र प्रक्रिया समयमै जिल्ला कमिटीले निश्चित गर्नुपर्ने, प्रत्येक वडाबाट तीन जनामा कम्तीमा एक महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने जस्ता कुरा पनि परिपत्रमा उल्लेख गरेको छ ।
‘जिल्ला संगठन कमिटीको हकमा भने कमिटीका पदाधिकारी र सदस्यहरू पनि प्रतिनिधि हुनका लागि पार्टी सदस्यहरूबाट चुनिएर आउनुपर्नेछ । प्रतिनिधि नरहेका सङ्गठन कमिटीका पदाधिकारी र सदस्यहरू आयोजकका रूपमा मात्र अधिवेशनमा सहभागी हुनेछन्’, परिपत्रमा भनिएको छ,’जिल्ला वा पालिका निर्वाचन क्षेत्र बनाई उपयुक्त अनुपातमा दलितलगायत सम्बन्धित जिल्लाको विशेषताअनुसारको समावेशी प्रतिनिधित्व गराउने ।
त्यसो गर्दा कुनै एक क्लस्टरको मात्र मातदाता र उम्मेदवार हुन पाउने व्यवस्था मिलाउने । एमाले जिल्ला अधिवेशनमा जनसंगठनबाट नियमावलीमा गरिएको वर्गीकरणअनुसार प्रतिनिधित्वको व्यवस्था मिलाउने ।’
यस्तै विधान अनुसार जिल्ला कमिटीले निर्वाचित प्रतिनिधि संख्याको ५ प्रतिशतसम्म प्रतिनिधिहरू मनोनीत गर्न पाउनेछन् । तर सो प्रावधानको उपयोग गर्दा पार्टी प्रवेश लगायतका सम्बोधन गर्नुपर्ने प्रतिनिधित्वमा छुटेका पक्षलाई पनि ध्यान दिनुपर्ने परिपत्रमा भनिएको छ ।
‘प्रतिनिधि हुनका लागि कम्तीमा दुई वर्ष पार्टीको सदस्य भएर काम गरेको हुनुपर्छ । महिला, दलित र युवाको हकमा न्यूनतम एक वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्छ । अन्य पार्टीबाट आएका हकमा पार्टी सदस्यता प्राप्त गरेको हुनुपर्छ । प्रतिनिधि छनौटमा यस्ता प्राविधिक पक्षलाई पनि ख्याल गर्ने’, महासचिव पोखरेलले जारी गर्नुभएको परिपत्रमा भनिएको छ,’जिल्ला अधिवेशनको व्यवस्थापकीय पक्षलाई ध्यानमा राखेर प्रतिनिधित्वको अनुपात निर्धारण गर्ने । तोकिएको आधार संख्याको पचास प्रतिशतभन्दा बढी भएपछि मात्र थप एक संख्या बढ्ने कुरामा स्पष्ट हुने । प्रत्येक तीन जना प्रतिनिधिमा न्युनतम् एक महिला प्रतिनिधि हुनुपर्दछ र थपिने संख्यामा पनि यो प्रावधान लागू हुने कुरामा ध्यान दिने ।’
एमालेले प्रतिनिधिको विवरणसहितको नाम र फोटो अधिवेशन उद्घाटन हुनुभन्दा दुई दिन अगाडि तोकिएको ठाउँमा पुगिसकेको हुनुपर्ने जनाएको छ । बन्दसत्र सुरु हुनुभन्दा अगाडि प्रतिनिधि प्रमाणीकरण गरिसक्नुपर्ने परिपत्रमा उल्लेख छ ।