रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउने पहल भइराखेकाे बताउनुभएकाे छ ।

युगाण्डाबाट आज बिहान स्वदेश फर्किनुभएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएकाे हाे ।

उहाँले रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको तर सरकारले भन्नेवितिकै रुसले मान्ने स्थिति नरहेको बताउनुभयाे । उहाँले परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँनुहुँदै भन्नुभयाे, ‘सरकारले पठाएको पनि होइन । सरकारले भन्ने बित्तिकै रुसले मान्दिहाल्ने कुरा पनि छैन ।’

प्रधानमन्त्री प्रचण्डले युगाण्डा भ्रमणको क्रममा रुसको उपविदेशमन्त्रीलाई भटेर नेपालीहरुलाई स्वदेश फर्काइदिन जानकारी गराएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘रुसलाई नोट पठाइएको छ । परराष्ट्रमन्त्रीज्युले पटक–पटक यो विषयमा कुरा गर्नुभएको छ । युक्रेन र रुससँग । अहिले पनि रुसका उपविदेशमन्त्रीसँग भेटेरै कुरा गर्नुभएको छ’ ।