काराेवार रकमसंगै नेप्से परिसूचक २५.६३ अंकले घट्याे
काठमाडाैं, ७ माघ । आइतबार नेप्से सूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको छ। यस दिन कारोबार रकम पनि घटेको छ।
बैंकहरुले नाफा घटेको विवरण प्रकाशित गरेपछि शेयर बजारमा त्यसको असर देखिएको छ ।आइतबार ७ अर्ब ६७ करोड रुपैयाँको शेयर कारोबार भएको छ। गत बिहीबार ८ अर्ब बढीको शेयर कारोबार भएको थियो।
यस दिन समाज लघुवित्त र आँखु खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्तको ९.९४ प्रतिशतले बढेको छ। यता सिइडिबि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ८.२७ प्रतिशतले घटेको छ भने मोलुङ हाइड्रोपावरको शेयरमूल्य ७.२६ प्रतिशतले घटेको छ।
यस दिन हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ५६ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमाल दोलखाको २२ करोड ९१ लाख र अपि पावरको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
कारोबारमा आएका १३ उपसमूहमा हाइड्रोपावर र अन्य उपसमूह बाहेक अन्य सबै उपसमूहको सूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूह नै २.४२ प्रतिशतले घटेको छ। धेरै पूँजी भएका बैंकहरुको शेयरमूल्य घट्दा त्यसले नेप्से सूचकलाई नै नकारात्मक बनाएको छ। यस दिन विकास बैंक र फाइनान्स उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धैरैले नकारात्मक देखिएको छ।