माओवादीका नेतृ पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडाैं, ७ माघ । नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट १५ वर्ष अघि भएको हत्याको घटनामा पञ्चा सिंहसहित छ जनाविरूद्ध पुर्जी जारी भएको हाे ।
२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो। सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा राजबहादुरको हत्या भएको थियो।
हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो। किटानी दर्ता भएका ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले बतायो।
टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनीहरूको खोजी गरिरहेको छ। पञ्चा सिंहले भने यसबारे आफूलाई जानकारी नभएको बताएकी थिइन्।