यू-१९ विश्वकप : नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित

काठमाडाैं, ८ माघ । यू-१९ विश्वकप क्रिकेटमा नेपाल आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा ३०३ रनको उच्च लक्ष्य पछ्याएको नेपालले अन्तिमसम्म संघर्ष गर्दा पनि ६४ रनकाे हार व्यहाेर्नु परेकाे हाे ।

नेपालले पुरै ओभर खेलेर २३८ रन बनायो । सुवास भण्डारी र तिलक भण्डारीले अन्तिमसम्म इनिङ्स सम्हाले । सुवास ३३ र तिलक १७ रनमा अविजित रहे ।

त्यसअघि अर्जुन कुमालले ९० रन बनाएपनि नेपाल जित नजिक पुग्न सकेन । कप्तान देव खनालले ३६ रन बनाए । १८ रन बनाउँदा २ विकेट गुमाएपछि नेपाल सुरुवातबाटै दबाबमा परेको थियो ।

कुमाल र खनालले ५९ रनको साझेदारी गरे तर एउटा खराब सट खेल्दा खनाल आउट भए । दिपक बोहराले १५, आकाश चन्दले १४ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो । विश्वकपमा यो नेपालको पहिलो खेल हो । दोस्रो प्रतिस्पर्धा आगामी बुधबार पाकिस्तानसँग हुनेछ ।