चालकले आफ्नै सवारी साधनबाट ट्रायल दिने व्यवस्था मिलाउन सतर्कता केन्द्रको निर्देशन
काठमाडाैं, ८ माघ । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) का लागि परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले प्रदेश सरकारहरूलाई निर्देशन दिएको छ ।
परीक्षार्थीहरूले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसबापत प्रशिक्षण केन्द्रहरूले मनोमानी शुल्क उठाउने गरेको भन्ने उजुरीपछि सतर्कता केन्द्रले यस्तो निर्देशन दिएको हो ।
केन्द्रले सातवटै प्रदेश सरकारलाई पत्राचार गरी परीक्षार्थीहरूलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
केन्द्रले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लगायत कुनै पनि नेपाल कानुनमा परीक्षार्थीहरूले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने कुनै किसिमका बाध्यात्मक व्यवस्था उल्लेख नभएको बताएको छ ।