७ सयजनाको उपचार गरिसकेपछि नक्कली डाक्टर काठमाडौंबाट पक्राउ

काठमाडौं, ८ माघ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट एक नक्कली डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टरको आरोपमा ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेकाे हो ।
विराटनगर-२ घर भइ हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय भट्टचार्यले चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा समेत काम गर्ने भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आएका थिए ।
उनले आफूलाई इन्डोक्राइनोलोजी कन्सल्टेन्सी बताउँदै उपचार गर्दै आएको प्रहरी बताउँछ । त्यस्तै उनले विदेश जानेका लागि नक्कली मेडिकल रिपोर्ट समेत बनाउँदै आएका थिए ।
शैक्षिक प्रमाणपत्रदेखि नेपाल मेडिकल काउन्सिलसम्मको कागजात नक्कली बनाएर डा. एस भट्ट आचार्यको नामबाट ठगिरहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए । उनलाई सोही पोलिक्लिनिकबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार भट्टाचार्यले विगत ९ महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका छन् । त्यस्तै धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको छ ।