सप्तरीमा कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

सप्तरी , ८ माघ । सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको छ ।

विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

झडपका क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएका छन् ।

जनमत पार्टीका नेताहरू ‘सप्तरीका जनताको विरोधका बाबजुद गैरकानूनी, गैरवैधानिक कार्यक्रममा प्रमुख अतिथि बन्न सप्तरीका जनताको नरसंहार नै गर्न मरिहत्ते गर्नुभएका माननीय उपेन्द्र यादवज्यूलाई जनमत पार्टीका तर्फबाट हार्दिक स्वागत गर्दछौं’ लेखेको व्यानरसहित स्वागतमा बसेका थिए ।

तर जनमत पार्टीको अवरोधका बाबजुद जसपा अध्यक्ष उपेन्द्र यादव मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गरेका छन् । जसपा अध्यक्ष यादव र मुख्यमन्त्री सरोज कुमार यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

त्यस क्षेत्रमा जसपा अध्यक्ष यादवलाई हराएर जनमतका अध्यक्ष डा. सीके राउत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

आफ्नो क्षेत्रमा आएर विश्वविद्यालय भवनको शिलान्यास जसपा अध्यक्ष यादवले गर्न लागेको भन्दै सीके राउत आक्रोशित छन् ।