एक महिने माधव नारायण पूजा तथा स्वस्थानी व्रत आजदेखि सुरू

काठमाडौं, ११ माघ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन काठमाडाैंकाे साँखुमा सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजदेखि सुरु भएको छ ।

एक महिनासम्म विधिपूर्वक गरिने माधव नारायण पूजा तथा स्वस्थानी व्रत आजदेखि सुरू भएकाे हाे । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यस व्रतको सुरुआत हुन्छ ।

मध्याह्नकालमा महादेवको पूजा गरिन्छ भने बेलुका हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने/सुनाउने परम्परा छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले माघ ११ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनुभयो ।

समितिले गएको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेको अवस्थालाई मध्यनजर गर्दै यस वर्ष पनि पच्चिस लाख श्रद्धालु भक्तजन आउने अपेक्षा गरेको छ । मेलाका लागि शान्ति सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको आयोजकले जनाएकाे छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।