रूससँगको तिक्ततापूर्ण सम्बन्धबीच फिनल्याण्डमा राष्ट्रपतीय निर्वाचन हुँदै

युक्रेनमा जारी युद्धपछि छिमेकी मुलुक रूससँगको तनावका कारण विदेश नीतिको नेतृत्व गर्ने भूमिकालाई बढावा दिएको फिनल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आगामी आइतबार मतदान हुँदैछ ।

फिनल्याण्डको सशस्त्र बलको सर्वोच्च कमाण्डरका रूपमासमेत काम गर्ने नयाँ राष्ट्रप्रमुखका लागि यूरोपको बदलिँदो भूराजनीतिक परिदृश्य मुख्य चिन्ताको विषय हुनेछ । पूर्व कन्जरभेटिभ प्रधानमन्त्री अलेक्जेन्डर स्टब र ग्रिन पार्टीका पूर्व विदेशमन्त्री पेक्का हाभिस्टो गरी दुई शीर्ष राजनीतिज्ञले नौ जना उम्मेदवारको समूहको नेतृत्व गरेका छन् ।

जनमत सर्वेक्षणका अनुसार पहिलो चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत (५० प्रतिशत) भन्दा बढी नल्याउने तर फेब्रुअरी ११ मा हुने दोस्रो चरणको मतदानमा स्टब र हाभिस्टोबीच नै प्रतिस्पर्धा हुने सम्भावना छ ।

‘फिनल्याण्डको नयाँ आउने राष्ट्रपति पहिलो पटक पश्चिम र नेटो समर्थक हुने र हाम्रो सबैभन्दा महत्वपूर्ण सम्बन्ध भनेको संयुक्त राज्य अमेरिकासँगको साझेदारी हो,’ स्टबले हालैको एक टिभी अन्तर्वार्तामा भन्नुभयो ।

सन् २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि मस्को र हेल्सिन्कीबीचको सम्बन्ध बिग्रिएको थियो जसका कारण फिनल्यान्डले दशकौँ लामो सैन्य असंलग्नता त्यागेर अप्रिल २०२३ मा नेटोमा सामेल भएको थियो । फिनल्याण्डसँग एक हजार ३४० किलोमिटर लामो सीमा जोडिएको रूसले तुरुन्तै ‘प्रतिकारात्मक उपाय’ अपनाउने चेतावनी दिएको थियो । त्यसको केही महिनापछि सन् २०२३ को अगष्टमा फिनल्यान्डले आफ्नो पूर्वी सीमाबाट बिना भिसा प्रवेश गर्ने आप्रवासीको चाप देखियो ।

मस्कोले आप्रवासीहरूलाई अस्थिर पार्न हाइब्रिड आक्रमणमा धकेलिरहेको दाबी हेलसिन्कीले गरेको छ । फिनल्याण्डले गत नोभेम्बरमा आफ्नो पूर्वी सीमा बन्द गरेको थियो । शीतयुद्धपछिको समयमा हेलसिन्कीले मस्कोसँग राम्रो सम्बन्ध कायम राखेको थियो । वर्तमान राष्ट्रपति साउली निनिस्टोले कुनै समय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो घनिष्ठ सम्बन्धको लागि गर्वसमेत गर्नुभएको थियो ।

युनिभर्सिटी अफ हेलसिन्कीको सामाजिक विज्ञान संकायका सहायक डिन हन्ना वासका अनुसार राष्ट्रपति पदका सबै उम्मेदवारले फिनल्यान्डको स्वतन्त्रता र नेटो सदस्यका रूपमा यसको नयाँ भूमिका दुवैको समर्थन गरेका छन् । वासले एएफपीसँग भन्नुभयो, ‘उनीहरू सबैको आत्मनिर्भरतामा जोड दिने बलियो विचार देखिन्छ, भविष्यमा फिनल्याण्डले स्वतन्त्र रूपमा आफ्नो रक्षाको जिम्मेवारी लिनुपर्छ र साझा युरोपेली रक्षा र नर्डिक सहयोग निर्माणमा सक्रिय योगदानकर्ता पनि हुनुपर्दछ ।

युनिभर्सिटी अफ टाम्पेरेका विदेश नीतिका प्राध्यापक टुमास फोर्सबर्गले ती सबै उम्मेदवारको विदेश नीति समान रहेको बताउनुभएको छ । उहाँले एएफपीसँग भन्नुभयो, ‘यो नेतृत्वका लागि व्यक्ति चयनभन्दा पनि नेतृत्व रहने व्यक्तिको विश्वसनीयता र जिम्मेवारी र विदेश नीतिको जानकारी राख्ने गुण, मूल्य र अन्य प्रतिनिधित्व छान्ने अवसर हो ।’

दैनिक हेल्सिंगिन सानोमाटले सोमबार प्रकाशित गरेको जनमत सर्वेक्षणमा स्टब २२ प्रतिशतका साथ अगाडि देखिनुभउको छ भने हाभिस्टो २० प्रतिशतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

वासले भन्नुभयो, ‘उनीहरू दुवैसँग घरेलु र विदेशी राजनीतिमा व्यापक अनुभव छ र उनीहरूलाई मतदाताले सबैभन्दा बढी महत्व दिएका छन् ।’ तिनीहरू धेरै पुस्ता र लामो समयदेखि ज्ञात व्यक्ति हुन् । ‘समान राजनीतिक विचारमा पनि हाभिस्टो र स्टबले फरक पृष्ठभूमिको प्रतिनिधित्व गर्दछन्,’ फोर्सबर्गले उल्लेख गर्नुभयो ।
फोर्सबर्गले भन्नुभयो, ‘यी दुईबीचको दोस्रो चरणको चुनावमा बहस निर्णायक हुन सक्छ ।’ दक्षिणपन्थी फिन्स पार्टीका उम्मेदवार जुस्सी हला–अहाले १८ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने पूर्व युरोपेली आयुक्त ओली रेहनले १२ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

हला–आहा र रेहन अझै पनि दोस्रो चरणमा पुग्न सक्ने फोर्सबर्गले बताउनुभयो । ‘यद्यपि, हेला–आहले दोस्रो चरण जित्ने सम्भावना छैन किनकि उहालाईँ धेरै विभाजनकारी नेताको रूपमा हेरिएको छ,’ उहाँले भन्नुभयो ।

संसदीय राजनीतिबाट के हासिल गर्न सकिन्छ भन्ने आम शङ्काले भरिएको वातावरणमा फिनल्याण्डको राष्ट्रपतिप्रति बढी विश्वास रहेको वासले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संस्थागत रूपमा हेर्दा राष्ट्रपतिप्रति फिनल्याण्डका जनताको अधीक विश्वास छ । राष्ट्रपतिलाई देशको सशक्त नेताको रूपमा हेरिन्छ ।’

फिनल्याण्डको राष्ट्रपतीय चुनावमा ७० प्रतिशतको हाराहारीमा मतदान हुने अनुमान गरिएको छ ।